FAQs Complain Problems

पौवादुङमा गाउँपालिकाको संक्षिप्त परिचय

संघीय संरचना अनुसार कोशी प्रदेश अन्तर्गतको भोजपुर जिल्लाका ९ वटा स्थानीय तहमध्ये पौवादुङमा गाउँपालिका एक हो । भोजपुर जिल्ला सदरमुकामबाट  पुर्ब क्षेत्रमा रहेका साबिकका श्यामसिला,तिवारीभन्ज्याङ ,च्याङ्ग्रे,बास्तिम,सानोदुम्मा र ठूलोदुम्मा गरि ६ वटा गाउँ विकास समितिलाई समेटेर पौवादुङमा गाउँपालिकाको निर्माण गरिएको छ। यस गाउँपालिकाको नामाकरण पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्दा भोजपुरमा बिभिन्न थुमहरु थिए। जस्तै हतुवा थुम,सिक्तेल थुम,खिखामाछा थुम,फालि थुम र पौवा थुम थियो।पौवाथुम अन्तर्गत १६ वटा गाबिसहरु समेटिन्थे।जस अन्तर्गत साबिकको तिबारीभञ्ज्याङ गाबिसको वडा नं ७,८,९ खेसाङमा यो थुमको केन्द्र रहेको थियो र लोपोन्मुख दुङमाली भाषीहरुले बोलिने दुङमाली भाषा अन्तर्गत (दुङमा) भन्नाले पिउनु भन्ने जनाउँछ।यी २ वटा नाम पौवा+दुङमा मिलाएर पौवादुङमा गाउँपालिकाको नामकरण गरिएको हो। गाउँपलिकाको सिमाना पुर्वमा अरुण नदि,पश्चिममा भोजपुर नगरपालिका,उत्तरमा अरुण गाउँपालिका र दक्षिणमा रामप्रसाद राई गाउँपालिका र हतुवागढी गाउँपालिका रहेका छन। यस गाउँपालिकाको कुल क्षेत्रफल ११८.८ वर्ग कि.मि. रहेको छ। बि.स.२०७८ को जनगणना अनुसार महिला ६,२५९ जना र पुरुष  ५,८४८ जना गरि कुल जनसंख्या १२,१०७ जना रहेका छन ।
पर्यटन प्रबर्द्धन तथा आर्थिक समृद्धिको आधारको रुपमा अरुण डाँडा,चिवाचुङ डाँडा,शिवालय पार्क,च्याङ्ग्रे पोखरी,सन्तानेश्वर महादेव,शिर्शिरे डाँडा आदि पर्यटकीय स्थलहरु रहेका छन। प्रमुख आर्थिक केन्द्रहरु श्यामसिला,तिवारीभञ्ज्याङ,च्याङ्ग्रे र मानेडाँडा आदि  रहेका छन। अधिकांश वडा कार्यलयहरुलाई ग्रामीण सडकले छोएको यस गाउँपलिकाको मुख्य पेशा कृषि हो। यहाँ धान,गँहु,मकै,कोदो,फापर आदि अन्नबाली र अम्रीसो,चिया,अलैंची,अदुवा आदि नगदेबालीहरु उत्पादन हुने गर्दछ। यहाँ ब्राह्मण,क्षेत्री,नेवार,कुमाल,राई,तामाङ,मगर,भुजेल,शेर्पा,लिम्बु,कामी,दमाई,सार्की आदि जातका मानिसहरुको बसोबास रहेको छ।